Bio

२०१८ साल माघ २ गते भोजपुरको सुन्दर गाउँ कुलुङमा जन्मनु भएकी सुजाता के.सी. सानैदेखि बहुप्रतिाभाशाली हुनुहुन्थ्यो । आई. एड. पढ्दा पढ्दै गायन क्षेत्रमा प्रवेश गर्नु भएकी के.सी.ले ४० को दशक देखि नै नेपाली लोकगीत गायनको क्षेत्रमा आफ्नो सिङ्गो पहिचान बनाउनु भएको छ । २०३८ सालमा राष्ट्र बैकबाट जागिरे जीवन शुरु गर्नु भएकी के.सी.ले जागिर सँगसँगै गायन कलालाई अगाडि बढाउँदै लैजानु भयो । ” माली गाईको चरनै रानीबन, रसाएन निठुरी तिम्रो मन ” आफैँले संकलन गरेको शब्द रचनामा झलकमान गन्धर्वको संगीत पाएपछि त्यही गीतले रत्न रेकर्डिङ संस्थानबाट प्रथम पुरस्कार प्राप्त गर्‍यो । उहाँले अहिले सम्ममा १०० वटा भन्दा बढी गीतको संकलन र गायन स्वर दिनु भएको छ । उहाँका प्रकाशित एल्वमहरुमा (१) डोको बोकेर – २०४२ (२) पहाडी गाउँ – २०४५ (३) हिमालचुली- २०५२ (४)  बस माया- २०६४ (५) नेपालीलाई नेपालै रमाईलो – २०७० चर्चित गीति एल्वम हुन् ।  भोजपुरको गाउँमा छँदै बुढापाका र बच्चाबच्चीहरुप्रति अगाध स्नेह दर्शाउने उहाँले आर्थिक विपन्नताका करण स्कूल जान नसक्नेहरुलाई यथासक्य सहयोग जुटाउँदै आफ्नै जन्मथलोमा चेतनाको दियो जगाउनु भयो । त्यस्ता जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिलाउने काम समेत गर्नु भयो । नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान, अष्टे्लियाको संस्थापक अध्यक्ष के.सी. एशोशियसन फर द ब्लाईण्ड अफ नेपालकी संस्थापक अध्यक्ष अहिले सो संस्थाको सदस्य हुनुहुन्छ ।  विभिन्न संघ / संस्थाबाट मान – सम्मान प्राप्त गर्नु भएकी के.सी.ले जर्मनी, फ्रान्स, रसिया, बेल्जियम, जापान, भियतनाम, लाओस, न्यूजिल्याण्ड, चीन र भारत  आदि देशको भ्रमण गर्नु भएको छ।

Portfolio

Videos